फागुन २,काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनु भएको छ ।
पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गर्नु भयो । “
हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं”, पौडेलले भन्नु भयो ,“यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो ।
उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ । उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।”
राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउनु भयो ।
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
