
जेष्ठ १६ काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्नु भएको हो।
१४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक भन्दै उहाँ पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।
केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका सुरेन्द्रराजले त्यो बेलै ठूलो दलको नेताको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीतिसहित चैत २१ गते राजीनामा दिएका थिए । प्रदेश प्रमुखले चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाईसमेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले गत चैत २५ गते दाबी पेश गरेका खगराजलाई प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
