जेष्ठ १६ काठमाडौं : काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन)लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ ।
गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गर्नु भएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने व्यक्तिहरूलाई स्वयंमसेवकको रूपमा खटाउन सुरू गरेको हो। मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वंयसेवकको रूपमा सडकमा खटाउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । चार वटा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंमसेवकका रूपमा सडकमा खटाइएको हो।

मापसे, लेन मिचेको, ट्राफिक बत्ती उल्लंघन र ओभरस्पिड गरी सवारीसाधन चलाएर कारबाहीमा परेकालाई स्वयंमसेवकका रूपमा खटाइएको उनले जानकारी दिनु भयो । यो ट्राफिक नियम उल्लंघन गर्दा एक घण्टाको ट्राफिक सचेतना कक्षा अनिवार्य लिनुपर्ने थियो। त्यसको सट्टामा अहिले सडकमा खटाउन सुरू गरिएको छ। कारबाहीमा परेकालाई एक घन्टा सडकमा परिचालन गरिनेछ। सिंहदरबार चोक, माइतीघर, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो, चापागाउँ दोबाटो, भक्तपुरमा स्वयंमसेवकलाई खटाइएको छ ।
