
असार ३ काठमाडौं : काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । इन्धन पाइन छाडेपछि काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएका महसुस गरि पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेका छन् । भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा अहिले सवारीको ताँती नै देख्न सकिन्छ ।
निजी पेट्रोल पम्प भने आइतबारदेखि नै बन्द रहेका छन् । नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण उपत्यकामा पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।
चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको थियो ।
संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ ।
