
असार २९,काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा रहेका यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिनभर भएको खोजी कार्य साँझ रोकिएकोमा आज बिहानैबाट फेरि सुरु गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गरिरहेको हो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या भएपछि शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो ।
काठमाडौँबाट गौरतर्फ गुडेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँका आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।
