जेठ,काठमाडौं १७ ; अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताउनु भएको छ। बजेट सार्वजनिक भएको दुई दिनपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताउनु भएकोे हो ।
उक्त योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई पनि सहभागी गराइने उहाँको भनाइ छ । उहाँले सो व्यवस्थाअनुसार मूल्य अभिवृद्धिकरको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको बताउनु भएको छ ।
राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको उहाँको भनाई छ । मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले रु १० लाखसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा. वाग्लेले विद्युतीय पूर्वाधार निर्माणका लागि बिजुलीको महसुलमा सामान्य शुल्क लगाउन लागिएकोसमेत बताउनुभयो । विद्युतीय पूर्वाधार निर्माणका लागि मात्रै आगामी आर्थिक वर्षका लागि रु ८५ अर्ब ५४ करोड बराबरको बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले लगानीको स्रोत जुटाउनका लागि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्नेलाई पाँच प्रतिशत बराबरको कर प्रस्ताव गरिएको बताउनु भयो ।
यस्तै, निजी विद्यालयमा अध्ययन गर्ने र निजी अस्पतालमा उपचार गर्नेका हकमा उठाउन लागिएको समता कोष सार्वजनिक पूर्वाधार विकास र दुर्गम क्षेत्रका विद्यार्थीको पोषणका लागि खर्च गरिने उहाँको भनाइ थियो।
