बैशाख १५, काठमाडौं : पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वि.स. २०७५ चैत ८ गते शिलान्यास गरेको ११३ किलोमिटर बुटवल–नारायणगढ सडक खण्ड ६ वर्षसम्म निर्माण सम्पन्न भएको छैन । बुटवल–नारायणगढको सडक सहरी भेगमा सिक्स लेन र जङ्गली क्षेत्रमा फोर लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको थियो । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर २०७५ सालमा सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म आधा पनि भएको छैन । पानी पर्दा हिलो, घाम लाग्दा धुलोको कारण स्थानीयबासी तथा त्यो बाटो भएर यात्रा गर्ने यात्री सर्वसाधारणले निकै नै हैरानी खेप्नुपरेको छ। काम सुरु भएको ६ महिनासम्म पनि पूर्व तयारी नभएको यो आयोजना त्यस लगतै कोभिड महामारीले काम अघि बढ्न सकेन। अहिले पूर्व र पश्चिम खण्डका केहि ठाउँमा कालोपत्रे सुरु भएको छ ।
१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।
