अन्तिम खेलअगावै वेस्ट इन्डिजले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि
बैशाख २०, काठमाडौं : चौथो खेलमा २८ रनको जित निकाल्दै नेपालसँगको ट्वान्टी–२० शृंखला अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सक्यो । जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला पक्का गरेको हो । अब यी दुई टिमबीचको अन्तिम खेल शनिबार हुनेछ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले ८२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यसबाहेक, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९ रन बनाए । अभिनाश बोहराले १७ रन जोडे ।
वेस्ट इन्डिजका म्याथ्यु फार्डे र हाइदेन वाल्सले समान तीन विकेट लिए । गुडाकेस मोटी र फाबियन एलनले समान दुई विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको थियो ।
