
असार २५,काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताउनु भएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस–एमाले मिल्नुपरेको बताउनु भएको हो । प्रचण्ड सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनु भयो । संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको उहाँको भनाइ छ ।
