२० चैत,काठमाडौं । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुलाई काम गर्नका लागि सय दिने हनिमुन पिरियडको सुविधा नचाहिने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरु दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेको बताउनुभयो ।
सांसद लामिछानेले विगतका सरकारहरु पारदर्शिता र जवाफदेहिताको कमजोरीले गर्दा इतिहास बदल्ने औजार बन्न नसकेको भन्दै आफूहरु इतिहासबाट सिक्न र परिणाम दिन आएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलहरुलाई आफूहरुमाथि २४ सै घण्टा निगरानी गर्न र बाटो बिराएमा सच्याइदिन आग्रह समेत गर्नुभयो ।
आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गर्ने र अध्यादेश ल्याउने जस्ता गलत क्रियाकलाप अब नदोहोरिने उहाँको भनाई । आस्थाका आधारमा फरक व्यवहार नहुने र अन्यायपूर्वक विधि मिचेर कसैलाई नफसाइने उहाँले प्रतिबद्धता व्यक्त गगर्नुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्तालाई पूर्ण कानुनी र राजनीतिक सुरक्षाको ग्यारेन्टी गरिने बताउनुभयो ।
सम्बोधनका क्रममा लामिछानेले शताब्दीयौंदेखि विभेद र अत्याचार भोगेको दलित समुदायसँग सिंगो सदन र सरकारको तर्फबाट माफी मागे। उनले छुवाछुतलाई सामाजिक गल्ती मात्र नभई ुसंगठित अपराधु को संज्ञा दिँदै अब कुनै पनि नेपालीले जातका नाममा झुक्नु नपर्ने बताउनुभयो ।
