फागुन,काठमाडौं १२ : इड्राइभ नेपाल र फच्र्यून ब्रिजले स्कुटर राइडरहरुलाई सडक सुरक्षा र ट्राफिक नियमको सम्बन्धमा अभिमुखिकरण गरेको छ । मंगलबार भक्तपुरमा इड्राइभ नेपाल र फच्र्यून ब्रिजका १०० जना राइडरहरुलाई अभिमुखिकरण गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता र इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केको अध्यक्षतामा भएको कार्यक्रममा राइडरहरुले अपनाउनुपर्ने सुरक्षाका विभिन्न उपायहरुको सन्दर्भमा सचेत गराइएको थियो । सोही अवसरमा यांगोको तर्फबाट १०० जना राइडरहरुलाई हेलमेट, ज्याकेट र ट्राउजर प्रदान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले दुई पाङ्ग्रे सवारी साधनको लापरबाही, तिव्र गति र मध्यपान सेवन गरेर सवारी साधन चलाउनुले काठमाडौँ उपत्यकामा धेरै दुर्घटना हुने गरेको भन्दै यसप्रति सबै राइडरहरु सचेत हुनुपर्ने बताउनुभयो । राइडरहरुले आफुबाट दुर्घटना हुँदैन भन्ने उच्च मनोबलका साथ सवारी चलाउनाले पनि दुर्घटना निम्तिने गरेको भन्दै आफुबाट पनि दुर्घटना हुनसक्छ भन्ने कुरामा हमेसा ख्याल गर्दै काम गर्न उहाँले आग्रह गर्नुभयो ।
अधिकारीले राइडरहरुले महिलाहरुलाई अनावश्यक रुपमा प्रश्न गर्ने र रेकर्ड गरेर सामाजिक सञ्जालमा हाल्ने प्रचलन बढिरहेको भन्दै त्यसो नगर्न पनि आग्रह गर्नुभयो। ‘महिला दिदीबहिनीहरुलाई सम्मान गरौँ । अनेक प्रश्न गरेर सोसल मिडियामा नहालौँ’, उनले भने, ‘ट्राफिक नियमको पालना गरौँ ।’
दुर्घटनाबाट बच्नका लागि ग्राहकलाई पनि हेल्मेट लगाउने व्यवस्था गर्न प्रहरि वरिष्ठ उपरीक्षक अधिकारीको आग्रह थियो ।कार्यक्रममा बोल्दै इड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले इड्राइभ नेपाल र फच्र्यून ब्रिजका अन्तर्गतका राइडरहरुलाई २ वटा हेल्मेटको व्यवस्था गर्दै ग्राहकहरुलाई पनि हेल्मेट लगाउने व्यवस्था गर्ने बताउनुभयो । उहााले आफुहरु चालकसहित ग्राहकको सुरक्षामा पनि उत्तिकै संवेदनशिल रहेको भन्दै उनीहरुको सुरक्षामा ध्यान दिने बताउनुभयो ।
