
असार १३ काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफलको नतिजा सार्वजनिक गरेको छ । जसमा परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, १८६ जनाले ४ जीपीए ल्याएका छन् ।
बोर्डका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
यता, बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी गराएको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १५ संस्थाले अनुमति पाएका छन् ।
जसमा १० वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस, आईभीआरमा १६०० डायल गरी नतिजा हेर्न सकिनेछ ।
