२० असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू निकटका नेताहरू नै एउटै पदमा भिड्ने अवस्था आएपछि उम्मेदवारी पुनर्विचार गर्न नेताहरूलाई आग्रह गर्नु भएको छ । १५ औँ महाविधवेशनपछि बन्ने कार्यसमितिमा सभापति बन्नका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारर्कीहरुसँग सभापति थापाले नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नु भएको हो ।
थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा सोचविचार गर्न प्रत्याशीलाई आग्रह गर्नु भयो । ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्त्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथीहरूले पदाधिकारीमा मनोनयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथीहरू बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यसकारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहन्छौँ । त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ,’ उनले भने ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाइएको थापाले बताउनु भएको छ । विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको थापाको भनाइ छ ।
