
जेष्ठ २९ काठमाडौं : गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिनु भएको थियो ।
फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति हुनुहुन्छ । माओवादी चुनाव चिह्नबाट चुनाव लडेर जितेका देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आउनुभएको छ । उहाँले फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए बापत मन्त्री पाउनु भएको हो ।
