माघ २३,काठमाडौं: काठमाडौंस्थित जापानी दूतावासले नेपाल जुडो संघलाई २४० थान पोसाक हस्तान्तरण गरेको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले मंगलबार संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यलाई उक्त पोसाक हस्तान्तरण गर्नु भएको हो ।
नेपालमा जुडोको प्रवर्द्धन र खेलाडीलाई प्रशिक्षणका दौरान सहयोग पुर्याउने हेतुले जापानी दूतावासले उक्त पोसाक दिएको हो। अखिल जापान जुडो महासंघ र गैर नाफामुखी संस्था जुडोसले जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत खेलकुदको माध्यमबाट जापान र मित्र राष्ट्रहरूबीच आपसी समझदारी बढाउने कार्यक्रमअन्तर्गत नेपाललाई उक्त पोसाक उपलब्ध गराएको हो।
राजदूत किकुताले जुडोको दैनिक अभ्यासले खेलाडीलाई सीपमात्रै नभएर स्वस्थ्य र शिष्टाचार पनि सिकाउनेबताउनु भयो । जुडोले खेलाडीको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास थियो।
जुडो पोसाकले नेपाली जुडो खेलाडीहरूको उत्साहलाई बढावा दिनुका साथै संस्थागत विकासमा सकारात्मक भूमिका खेल्ने जापानी दूतावासले अपेक्षा गरेको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन दूतावास हरदम तयार रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
