जेष्ठ १९ काठमाडौ : नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।
शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए।
हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
‘आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।
