
जेष्ठ २९ काठमाडौं : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उहाँले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गर्नुभएको हो ।
उहाँले संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि बताउनु भयो । सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताउनु भयो ।
सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहेपनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाउनु भयो
