माग २४,काठमाडौं: प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
सत्तारुढ दलहरूबिच विश्वास छ भने दिनदिनै म यति महिनापछि छाड्छु भनिरहनुपर्छ र ? भन्ने प्रश्न गर्दै उहाँले अब विपक्षीको डरले एक अर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गर्नुभयो ।
स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै सङ्कट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्म मात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’, उहाँलेृ भन्नु भयो, ‘हामी सरकार बनाउनेछौँ तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौँ तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौँ ।’
