२५ फागुन,काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै भारत तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डमाथि ९६ रनको जित हासिल गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अल आउट हुदै १५९ रनमा समेटियो। न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। २६ बलको सामना गरेका उनले २ चौका तथा ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनरले ३५ बलमा ४३ रन जोडे। भारतका लागि जसप्रित बुमराहले ४ तथा अक्षर पटेलले ३ विकेट लिए।
त्यसअघि भारतको नरेन्द्र मोदी क्रिकेट रंगशालामा न्युजिल्याण्डले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो।
भारतका लागि सुरुवाती तीनै ब्याटरले अर्धशतक प्रहार गरे। सञ्जु स्यामसन सर्वाधिक ८९ रनमा आउट भए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरेका थिए। पहिलो विकेटका लागि अर्का ओपनर अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको साझेदारी गरे।
शर्मा २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५२ रनमा आउट भए। तेस्रो विकेटका लागि स्यामसनले इशान किशनसँग ४८ बलमा १०५ रनको शतकिय साझेदारी गरे। किशनले ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन बनाए। न्युजिल्याण्डका लागि जिम्मी निशमले १६ औं ओभरमा महत्वपुर्ण ३ विकेट लिएपछि भारतको रन गती रोकिएको थियो।
