११ असोज,काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा दलित जेन–जी एलायन्सको नेतृत्वमा जारी शान्तिपूर्ण धर्ना आन्दोलन आज १२८ औँ दिनभएको छ ।दलित समुदायका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुनी व्यवस्था गर्न माग गर्दै आन्दोलन जारी राखिएको हो।
नेपालको संविधान जारी भएको ११ वर्ष पुगिसक्दा पनि संविधानको धारा ४० मा व्यवस्था गरिएका दलितका मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था पूर्ण रूपमा प्रभावकारी हुन नसकेको आन्दोलनकारीहरूको भनाइ छ।
संविधान संशोधनको बहस चलिरहेका बेला आन्दोलनकारीहरूले भने संविधानले पहिले नै सुनिश्चित गरेका अधिकारको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। उनीहरूले प्रश्न गरेका छन्, “संशोधनभन्दा पहिले संविधानले दिएको अधिकार कार्यान्वयन कहिले हुन्छरु”
१२७ दिनदेखि माइतीघरमा धर्ना जारी रहँदा पनि सरकारले आफ्ना माग सम्बोधन गर्न पर्याप्त पहल नगरेको आन्दोलनकारीहरूको आरोप छ। साथै, दलित समुदायबाट निर्वाचित सांसदहरूको भूमिकामाथि समेत प्रश्न उठाइएको छ।
आन्दोलनकारीहरूले दलित समुदायको मत र मुद्दालाई केवल निर्वाचन तथा सत्ता प्राप्तिको माध्यमका रूपमा नलिई निर्वाचित भएपछि समुदायका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन्।
