माघ २६,काठमाडौं :वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले दलाल पुँजीवादको ठेक्का लिएर समाजवाद नआउनेबताउनु भएको छ । दलाल पुँजीवादको ठेक्का लिएर समाजवाद आउँछ भन्नु हावादारी कुरा भएको उहाँको भनाई छ । माओवादी केन्द्रले उठाउँदै आएको समाजवाद पुँजीवाद भएको उहाँले बताउनु भयो ।
उहाँले नेपालमा भइरहेका गलत परम्परा र संस्कृतिलाई छोड्ने नयाँ र ठीक कुराको जग हाल्ने उद्देश्यका साथ आफूहरूले हरेक वर्ष संकल्प पर्व मनाउँदै आएको बताउनु भएको छ । ‘
नेपाली समाजमा सबै परिवर्तनका निम्ति भएका बलिदानका संयुक्त संस्मरण गर्ने र परिवर्तनका निम्ति नयाँ संकल्प पर्वको रुपमा हामीले मनाउँदै आएका छौं’, उहाँले भन्नु भयो, ‘भइरहेका गलत परम्परा र संस्कृतिलाई छोड्ने, नयाँ कुरा र ठीक कुराको जग हाल्ने अन्तर्गतको पर्व हो ।’
देशमा रहेका सबै संस्कार, चाडपर्वहरू मौलिक ढंगले निर्माण गर्ने अभियानका रुपमा माघ २९ र फागुन १ गते संकल्प पर्व मनाउन लागिएको आहुतीले जानकारी दिनु भयो ।
