फागुन १,काठमाडौं :वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औसत ब्याजदर ०.३९ प्रतिशत विन्दुले घटेको छ ।
माघ महिनामा ८.११ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशत विन्दुमा सीमित भएको छ । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औसत ब्याजदर ०.३८६५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनाका लागि सर्वाधिक ब्याजदर कृषि विकास बैंकले घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीमा ७.२६ प्रतिशत ब्याज दिएको बैंकले फागुनमा भने अधिकतम ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । साथै, व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८१ प्रतिशत विन्दुले घटाएको पनि बैंकले जनाएको छ ।
