२८ असोज, काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको बताइएको छ ।
त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूतले हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने बताइएको छ । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने जनाइएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुने बताइएको छ ।
इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने दूतावासले जनाएको छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको बताइएको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
