साउन ७,काठमाडौं : साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ।

धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ। त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ। यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् ।

