वैशाख,काठमाडौं २६: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । आगलागीबाट ६ परिवारको १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एकएक वटा घर गरी ९ घर र तीन वटा गाईगोठ गरी १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
