२२ वेशाख,काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेख्नु भएको छ ।
संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाउनु भएको छ । नेपालको लिपुलेक हुँदै भारतले कैलाशमा –नसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उहाँले प्रश्न गर्नु भएको छ ।
केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गर्नुभएको छ । सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

