फागुन,काठमाडौं २७ : गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुट्नु भएको छ । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटनु भएको हो ।
चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटनु भएको बताइएको छ ।
मनाङेले पटक पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसक्नु भएको थियो। उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनुभएको थियो । सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उहाँ २०८१ कात्तिक २७ गते पक्राउ पर्नुभएको थियो । मनाङेले २० प्रतिशत कैद छुट पाउनु भएको थियो ।
मनाङेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिनुभएको थियो । । तर मनाङेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गर्नुभएको थियो ।
