९असोज,काठमाडौं । गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
आज बिहान करिब २ः०० बजे परेको चट्याङले मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो ।
चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ।
