
जेष्ठ २४ काठमाडौं : भारतमा लोकसभा चुनावको नतिजा आइसकेको छ । चुनावी नतिजासँगै नरेन्द्र मोदीले तेस्रो कार्यकालको तयारी थालिसकेका छन् ।
तर उनको तेस्रो कार्यकाल सहज भने देखिएको छैन । सन् २०१४ र २०१९ मा भारतीय जनता पार्टीले बहुमत ल्याउँदा एकछत्र शासन गरेका मोदीलाई यस पटक सुरुबाटै मुस्किल आइलागेको छ ।
अहिले मोदी ३.० को तयारी चलिरहेको छ । त्यही तयारीअनुसार नरेन्द्र मोदी आगामी प्रधानमन्त्रीका रुपमा यही शनिबार शपथ लिने तयारीमा छन् ।
उनले त्यसका लागि दिल्लीमा भब्य तयारी पनि थालेका छन् । नेपाल र बंगलादेशसहित कयौँ छिमेकी मुलुकका सरकार प्रमुखलाई निम्ता पनि गरिएको छ ।
तर उनको तेस्रो कार्यकाल पहिलो र दोस्रोभन्दा कयौँ हिसाबमा फरक छ । यसको मुख्य कारण हो, यस पटकको चुनावमा भारतीय जनता पार्टी बहुमत ल्याउन असफल हुनु । यस पटकको चुनावमा भाजपा पूर्ण बहुमतबाट ३२ सिटले पछाडि परेको छ । अर्थात् भाजपासँग अहिले २४० सिट मात्रै छ जबकि बहुमतका लागि २७२ सिट चाहिन्छ ।
