५ असार,काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ मा नौमती बाजा वितरण गरिएको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत बिहीबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले दमाई समुदायका प्रतिनिधिहरूलाई नौमती बाजा हस्तान्तरण गर्नुभएको हो।
स्थानीय कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अनुदान स्वरूप नौमती बाजा वितरण गरेको अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय आधुनिकताको प्रभावसँगै लोप हुने अवस्थामा पुगेको मौलिक सांस्कृतिक पहिचान नौमती बाजालाई पुनर्जीवित गर्ने गरी अध्यक्ष कार्कीले दमाई परिवार तथा बाजा संरक्षणमा संलग्न समुदायलाई उक्त बाजा उपलब्ध गराउको बतााउनुभयो । कार्कीले स्थानीय समुदायको सांस्कृतिक धरोहर जोगाउन विशेष चासो र प्रतिबद्धता देखाउनुभएको छ।

उहाँको पहल र सक्रियताका कारण लोपोन्मुख अवस्थामा पुगेको नौमती बाजाले पुनः नयाँ ऊर्जा, उत्साह र संरक्षणको अवसर प्राप्त गरेको स्थानिय स्थानीयवासीहरूले बताएका छन्। सरकारले गरेको यो कार्य अत्यन्तै प्रशंसनीय र स्वागतयोग्य रहेको उहाँहरुकोे भनाई छ । उहाँहरुले वडा अध्यक्ष कार्कीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।
स्थानीय संस्कृति, परम्परा र पहिचान जोगाउने दिशामा उहाँले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ। यो बाजाको संरक्षण मात्र नभई मौलिक संस्कृति, इतिहास र पहिचानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण सबैको साझा जिम्मेवारी भएकाले यस्ता सकारात्मक कार्यहरूलाई निरन्तरता दिँदै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताइएको छ ।
