बैशाख,काठमाडौं १३ : बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन डोजर चलाइएको छ। डोजर परिचालन भएसँगै त्यहाँ रहेका टहरा, पसल तथा अस्थायी संरचना हटाउने काम शुरु गरिएको हो।
बुटवल उपमहानगरपालिकाले उच्च अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फ रहेको सरकारी जग्गा खाली गराउने अभियान अघि बढाएको जनाएको छ । डोजर चल्ने सूचना पाएपछि बिहानैदेखि व्यवसायी तथा संरचना बनाएकाहरू सामान सार्न र स्थान खाली गर्न व्यस्त देखिएका थिए।
यो क्षेत्रमा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन निर्माण गरी सरकारी जग्गा उपयोग हुँदै आएको बताइएको छ। उपमहानगरपालिकाले अतिक्रमित क्षेत्र हटाएर सार्वजनिक सम्पत्ति संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ ।
लामो समयदेखि अतिक्रमणमा परेको अदालतको जग्गा संरक्षणका लागि यसअघि पनि पटक–पटक प्रयास भएपनि कार्यान्वयन हुन सकेको थिएन।
