काठमाडौं :मोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् ।
स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत भेटिएका १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की धनकुटाका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको आज करिब साढे चार बजे फेला परेको हो ।अर्जुनकी श्रीमती २९ वर्षीया अस्मिता न्यौपाने भने सम्पर्कविहीन छन् ।बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन ।
बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् ।
