असार २ ,काठमाडौं : माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप(नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ ।
२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। तर उत्तरपुस्तिका परीक्षण गर्ने बेला चैत २० गतेदेखि नै ‘शिक्षा विधेयक’ जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकरकर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका थिए ।
आन्दोलन अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले विज्ञप्ति नै जारी गरेर एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणमा सहभागी नहुन शिक्षकहरूलाई उर्दी जारी गरेपछि उत्तरपुस्तिका परीक्षणको काम रोकिएको थियो। बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन्।
