३ जेठ,काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रको विद्यालय शिक्षालाई व्यवस्थित र पारदर्शी बनाउन शिक्षक दरबन्दी मिलान, छात्रवृत्ति वितरण र विद्यालय व्यवस्थापन समिति गठनमा नयाँ नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले हालैका निर्णय र भावी योजनाबारे जानकारी दिँदै शिक्षा क्षेत्रमा सुधारका विभिन्न पहलहरू सुरु भएको बताउनु भएको छ ।
महानगरले हालसम्म दुई चरणमा गरी करिब एक सय जना शिक्षकको दरबन्दी मिलान गरिसकेको छ । पहिलो र दोस्रो चरणमा शिक्षकहरूको चाहना र विद्यालयको आवश्यकतालाई प्राथमिकता दिइएकोमा अब तेस्रो चरणमा पूर्णतः आवश्यकताका आधारमा शिक्षक खटाउने तयारी गरिएको छ ।
यस्तै, निजी वा आन्तरिक स्रोतबाट नियुक्त शिक्षकहरूको व्यवस्थापन सम्बन्धित विद्यालयले नै गर्नुपर्ने र आन्तरिक स्रोत उपलब्ध भए कार्यविधि बनाएर उपदान वा क्षतिपूर्तिको व्यवस्था गर्न सकिने विभागले जनाएको छ । स्रोत नभएका विद्यालयको हकमा शिक्षा विभागमा सिफारिस गरेपछि आवश्यक निर्णय लिइने बताइएको छ ।
