२ जेठ, काठमाडौं । स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ।
सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएको बताइएको छ ।
स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिनु भएको छ ।
हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो।
स्टलमा स्थानीय उत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरू, कृषिको बीउबिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका विभिन्न परिकार राखिएको थियो ।
