जेष्ठ २, काठमाडौं : प्रहरीले अपांगता भएकाहरुमाथिको आन्दोलनमा धरपकड गरेको छ ।

सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि प्रहरीले धरपकड गरेको हो ।
बुधबार निकालिएको र्यालीमा प्रहरीले धरपकड गरेको हो । सो क्रममा राष्ट्रिय लोकतान्त्रिक अपांग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठसहित केही घाइते भएका छन् । प्रहरीले आन्दोलित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्रकार समेत रहेका छन् ।
अपांगता भएका व्यक्तिसँग भएको सम्झौता कार्यान्वयन गराउन अनसनरत दीपक भण्डारीको जीवन रक्षाको लागि संयुक्त रुपमा रत्नपार्कदेखि भृकुटीमण्डपसम्म निकालिएको शान्तिपूण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको हो ।
पक्राउ पर्नेहरुमा आन्दोलन संयोजक विकास थापा, सदस्यहरु सुगम भट्टराई, पर्वतराज विष्ट, कृतन दुवाल, विरुकेयल श्रेष्ठ, बासुदेव यादव, गोपाल मोक्तान, सीता भण्डारी, गंगा राई, दानबहादुर थिङ रहेका छन् । यसअघि गत आइतबार उनीहरुले काठमाडौँमा ४५ मिनेट चक्काजाम गरी दबाबपूर्ण र्याली निकालेका थिए ।
