असोज,काठमाडौं ३० : नेपालीहरूको महान् पर्व बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ। काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्कमा दसैं मनाउन गाउँ फर्किने यात्रुको भिड देखिन थालेको हो।
दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गर्न, मान्यजनको हातबाट टीका र जमरा लगाउन तथा पर्व मनाउन यात्रुहरू धमाधम गाउँ फर्किन थालेका छन्। दसैं नजिकिएसँगै बसपार्क क्षेत्रमा यात्रुको चाप बढ्दै गएको छ।
रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सर्वसाधारण दसैं मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि बसपार्क क्षेत्रमा चहलपहल बढेको हो। दसैंमा परिवारसँगै बसेर पर्व मनाउने र आफन्तसँग भेटघाट गर्ने परम्पराका कारण यस समयमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने गरेको छ।
