वैशाख १७, काठमाडौं : हिजो राती प्रहरीले वीरगञ्जमा गोली चलायो । घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान हुन्।
उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेका छन् ।
पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्साका एसपी कुमोध ढुंगेल बताए। त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए ।
प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए ।
उनी मारिएपछि भारतीय सञ्चारमाध्यमहरुमा मोहम्मदलाई पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईसँग जोडेर प्रचार गरिएको थियो ।
उनी मारिनुअघि नेपाल प्रहरीसँग मोहम्मदबारे भारतीय पक्षले चासो राख्दै आएका थिए ।
उनको हत्यामा प्रयोग भएको हतियार पासवानले नै व्यवस्थापन गरेको प्रहरीको भनाइ छ ।
उनी घटना भएका बेला गोठाटारमै भएको समेत आशंका छ ।
