फागुन ७,काठमाडौं -जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका ६ का २२ वर्षीय विकास बुढा रहेका छन्। बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख ९क० ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्। ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ।
यस्तै, प्रहरीका अनुसार विकासलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ। यस्तै, केही दिनअघि मात्र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले नारायण नगरपालिका–८ का वीरेन्द्रबहादुर बस्नेतलाई पनि पक्राउ गरिएको छ।
पछिल्लो समय दैलेखमा बाल यौन दुर्व्यवहारका घटना बढ्दै गएका छन्। करिब दुई हप्ताको अन्तरमा मात्रै दुई जना बालिकामाथि बाल यौन दुरुपयोग र बलात्कारको आरोपमा दुई जनलाई पक्राउ परेका छन्।
